निर्यात ५७ प्रतिशतले बढ्यो, फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै कम

41 Shares

काठमाण्डौ – चालु आर्थिक वर्षको आठ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५७.२ प्रतिशतले बढेर १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, पार्टिकल बोर्ड, अलैँचीलगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जुशलगायतका वस्तुको निर्यात घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामलर धान, यातायातका उपकरण, गाडी  तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरनलगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाईजहाजको पार्टपुर्जा, लेख्ने तथा छाप्ने कागज, रसायनिक मल लगायतका वस्तुको आयात घटेको छ ।

अघिल्लो वर्षको यही अवधिमा निर्यातमा ४ प्रतिशतले र आयातमा २.७ प्रतिशतले कमी आएको थियो । आठ महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले बढेर ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यसैबीच फागुनमा महँगीदर चालु आर्थिक वर्ष लागेयताकै कम देखिएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदन अनुसार फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महँगीदर ३.७५ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ४.८२ प्रतिशत थियो । गएको आर्थिक वर्षको असार मसान्तमा ५.५७ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति त्यसयता मङ्सिरमा बढेर ६.०५ प्रतिशतसम्म पुगेको थियो ।

पुसयता लगातार घट्दो क्रममा देखिएकोमा फागुनमा चालु आर्थिक वर्षको न्यून रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सबै