ट्रम्पको भन्सार नीतिपछि भारतीय रिजर्भ बैंकद्वारा ब्याज दर कटौती

186 Shares

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर वृद्धि गरेसँगै उत्पन्न विश्वव्यापी आर्थिक अनिश्चितता र चुनौतीबीच भारतको केन्द्रीय बैंकले ब्याज दर कटौती गरेको छ।

भारतीय रिजर्भ बैंक (आरबिआई) ले बुधबार रेपो दर २५ आधार अंकले घटाउँदै ६ प्रतिशतमा झारेको जनाएको छ। यस कदमले सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

ट्रम्प प्रशासनले भारतमाथि २६ प्रतिशतको भन्सार दर लागू गरेको दिनमै आरबिआईको निर्णय आएको हो। संरक्षणवादी व्यापार नीतिका कारण भारतको निर्यात क्षेत्रमा दबाब परेको अर्थशास्त्रीहरूको विश्लेषण छ।

गोल्डम्यान स्याक्सले चालु आर्थिक वर्षको वृद्धि अनुमान ६.३ प्रतिशतबाट घटाएर ६.१ प्रतिशतमा झारेको छ। आरबिआईको मौद्रिक नीति समितिले पनि व्यापार क्षेत्रमा अनिश्चितता र आर्थिक दृष्टिकोणमा अस्पष्टता रहेको जनाएको छ।

भारतको अर्थतन्त्र गत आर्थिक वर्षमा ६.५ प्रतिशतले मात्र वृद्धि भएको अनुमान छ, जुन कोभिड–१९ महामारीपछिको सबैभन्दा सुस्त दर हो।

भारतले ट्रम्प प्रशासनको व्यापार नीतिमा अहिलेसम्म सावधानीपूर्वक प्रतिक्रिया दिएको छ। तर वासिङ्टन र नयाँदिल्लीबीच द्विपक्षीय व्यापार सम्झौताका लागि वार्ता भइरहेको छ र यसको पहिलो चरण यसै शरद ऋतुसम्म टुंगो लाग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै