ट्रम्प प्रशासनको निर्देशन: सङ्घीय कर्मचारीलाई उपलब्धि बुझाउन वा राजीनामा दिन आदेश

318 Shares

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सङ्घीय कर्मचारीहरूलाई एक हप्ताका उपलब्धिहरू प्रस्तुत गर्न वा राजीनामा दिन निर्देशन दिएको छ।

एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले कर्मचारीहरूलाई इमेल पठाएर यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ। मस्कले सामाजिक सञ्जाल एक्समा चाँडै प्रगति रिपोर्ट बुझाउनुपर्ने लेखेपछि केहीबेरमै कर्मचारीहरूले इमेल पाएका थिए। उनले निर्देशन अवज्ञा गरेमा त्यसलाई राजीनामाका रूपमा लिइने चेतावनी दिएका छन्।

सरकारी खर्च कटौतीका लागि मस्कले कोष निलम्बन गर्ने र कर्मचारी कटौती गर्ने योजनाको नेतृत्व गरिरहेका छन्। पठाइएको इमेलमा पाँच बुँदामा कर्मचारीहरूले अघिल्लो हप्तामा गरेका काम र उपलब्धिहरू प्रस्तुत गर्न भनिएको छ।

सङ्घीय कर्मचारीहरूको सबैभन्दा ठूलो युनियनले भने मस्कको कदमलाई क्रूर र अनादरपूर्ण भन्दै आलोचना गरेको छ। युनियनका अध्यक्ष एभरेट केलीले मस्क र ट्रम्प प्रशासनले सङ्घीय कर्मचारीहरूको सम्मान नगरेको टिप्पणी गरेका छन्।

मस्कको सरकारी दक्षता विभाग आधिकारिक सरकारी निकाय नभए पनि ह्वाइट हाउसको स्वीकृतिमा सङ्घीय पूर्वाधारमा ठूला परिवर्तन गरिरहेको छ। यस विभागले आन्तरिक राजस्व सेवा, पेन्टागन, सङ्घीय उड्डयन प्रशासनलगायत विभिन्न निकायबाट हजारौं कर्मचारी बर्खास्त गरिसकेको छ।

बीबीसीका अनुसार मस्कले ट्विटर (अहिलेको एक्स) किनेपछि अपनाएको कर्मचारी व्यवस्थापन शैली अहिले अमेरिकी सङ्घीय कर्मचारीहरूमा पनि दोहोरिएको देखिन्छ।

सम्बन्धित समाचार

सबै