यूएसएड खर्चको विवरण सार्वजनिक गर्न सांसदहरूको माग

98 Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका सांसदहरूले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड)मार्फत नेपालमा भएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

आइतबार (फागुन ११) बसेको समितिको बैठकमा सांसद गंगा कार्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएडमार्फत नेपालमा भएको खर्चलाई ‘फ्रड’ भनेको उल्लेख गर्दै सरकारले सो रकम कहाँ र कसरी खर्च भयो भन्ने स्पष्ट पार्नुपर्ने बताए।

‘यूएसएडमार्फत नेपालको वित्तीय संघीयताका लागि दिइएको रकमबारे अमेरिकी राष्ट्रपतिले नै प्रश्न उठाएका छन्। अनौपचारिक रूपमा बुझ्दा सो रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारी आएको छ। त्यसैले आयोगसँग जवाफ मागिनुपर्छ,’ उनले भने।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा यूएसएड खर्चलाई ‘फ्रड’ भनेका हुन् भन्ने बुझ्नुपर्ने धारणा राखे। साथै, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे पनि उनले चर्चा गरे।

सांसद सूर्यबहादुर थापा क्षेत्रीले अमेरिकी राष्ट्रपतिले उठाएको विषय संसद्मा छलफल हुनुपर्ने भन्दै समितिमा यसको चर्चा आवश्यक नभएको बताए। उनले यूएसएड खर्चको विस्तृत विवरण अर्थ मन्त्रालयसँग माग्न पत्राचार गर्नुपर्ने सुझाव दिए।

बैठकमा समितिको ढिलासुस्ती, कार्यसूचीभन्दा बाहिरका विषयमा बढी छलफल हुने प्रवृत्ति, र समितिको प्रभावकारिता कमजोर देखिएको विषयमा समेत छलफल भएको थियो।

सम्बन्धित समाचार

सबै