काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गरेकी छन्।
उनको भ्रमणका क्रममा शहरी विकास, विधायिकी, न्यायिक अभ्यास र स्थानीय शासनसँग सम्बन्धित असल अभ्यासबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
युरोपियन युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ तथा अधिकारीहरूसँग अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीबारे छलफल हुने कार्यक्रम रहेको छ। त्यसैगरी, संसद सञ्चालन र विधायिकी अभ्यासका सन्दर्भमा सांसदहरूसँग पनि डंगोलको विशेष छलफल हुनेछ।
उपमेयर डंगोल लक्जेम्बर्गमा हुने भ्रमणका क्रममा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप प्रक्रिया र वैकल्पिक विवाद समाधान (ADR) प्रणालीको अवलोकन गर्नेछिन्।
यस भ्रमणमा उनले शहरी विकास वितरण, व्यवस्थापन, स्थानीय शासन प्रवद्र्धन र तहगत दायित्वबारे युरोपेली स्थानीय सरकारका प्रतिनिधिसँग संवाद गर्नेछिन्। साथै, काठमाडौं महानगरपालिकाका सम्भावना र स्थानीय स्तरमा अभ्यास गरिएका सकारात्मक कार्यहरूको पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा नेपाली सभ्यता, मौलिक एवं परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदाको गरिमा प्रस्तुत गरिनेछ। त्यस्तै, लैङ्गिक समानता अनुकूल शहर निर्माण, स्थानीय विवाद समाधानमा महिला सञ्जालको भूमिका र वडास्तरीय मेलमिलाप कक्षसम्बन्धी अभ्यासबारे पनि जानकारी गराइनेछ।











