काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा ‘हेर्दाहेर्दै’ मा परेको छ । मंगलबार न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भए पनि अन्तिम टुंगो नलागेपछि मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको हो । पुनः बुधबार सुनुवाइ हुने जानकारी अदालतका सूचना अधिकारी निराजन पाण्डेले दिएका छन् ।
यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारंगा सुवेदीको इजलासले उक्त रिट ‘हेर्न नमिल्ने’ मा राखेको थियो । त्यस्तै, गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुबै पक्षलाई छलफलका लागि आइतबार उपस्थित हुन आदेश दिएको थियो । अदालतले दुबै पक्षलाई १५ दिनभित्र लिखित जवाफ दिन समेत भनेको छ ।
कुलमान घिसिङले मन्त्रिपरिषद्को आफूलाई बर्खास्त गर्ने र शाक्यलाई नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अन्तरिम आदेशको माग गरेका छन् । उता, हितेन्द्रदेव शाक्यले गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक दाबी गरेका छन् । सरकारले चैत ११ गते घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।











