सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने शंकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाइएको छ ।समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा बनाएको मञ्चका कारण सो क्षेत्रमा बिहानैदेखि सवारी साधनहरू आवतजावतमा रोक लगाइएको छ । रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ । त्यस्तै काठमाडौँको तीनकुने, बानेश्वर, माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ । जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन् ।
दुवै पक्षधरले एकअर्काविरुद्ध प्रदर्शन गर्दैछन् । आन्दोलनका लागि तयारी जारी राखेका छन् । अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ । त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ । आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ । आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन् ।







