
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज (चैत ८) बिहान सवा ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।
बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने सम्भावना छ।
त्यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा) ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन्।
सचिव डा. सुरेन्द्र अर्यालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देशहरू टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।