कोशी प्रदेशको राजधानी विराटनगरका अधिकांश क्याम्पसहरूमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन्। प्रदेशका प्रमुख क्याम्पस महेन्द्र मोरङ क्याम्पस विराटनगरमा अखिल क्रान्तिकारीका रोहित यादवले सभापति जितेका छन्। उनले १,११८ मत ल्याउँदा, नेविसंघका प्रज्वलजंग विष्टले १,०७५ मत प्राप्त गरे। यादव र विष्टको मतान्तर ४३ रहेको छ।
अनेरास्ववियुका अनिष बोगटीले २ सय ३२ मत मात्र प्राप्त गरे। नेविसंघले सचिव र कोषाध्यक्षको पदमा भने जित हासिल गरेको छ। सचिवमा नेविसंघका सुदीक्षा थापामगर ७४१ मतसहित विजयी भइन्, उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५८८ मत प्राप्त गरे।
कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए। राती सम्पन्न मतगणनामा पासवानले ८९३ मत ल्याउँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजीव यादवले ८२७ मत प्राप्त गरे।
विराटनगरको डिग्री क्याम्पसको सभापतिमा क्रान्तिकारीका प्रितम साह विजयी भए। यस्तै, विराटनगरको नर्सिङ क्याम्पसमा क्रान्तिकारीकै रोहित ताजपुरिया निर्वाचित भए। मोरङको कानेपोखरीस्थित रमाइलो क्याम्पसमा सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भए। मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरेको प्यानल नै निर्वाचित भएको छ।
सुकुना बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुले जित हासिल गरेको छ। सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भए। ओझाले नेविसंघका विजय ओझालाई हराउँदै निर्वाचित भएका हुन्। एलिसले ९८५ मत प्राप्त गर्दा विजयले ६८६ मत मात्र पाए।
केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा निर्वाचित भए। यसै गरी, मोरङको पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई निर्वाचित भएका छन्। मोरङका ३ आङ्गिक र ८ सामुदायिक क्याम्पसहरूमा मङ्गलवार निर्वाचन भएको थियो।