भक्तपुर, चैत ४ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुनेछ। परीक्षाका लागि आवश्यक सबै सामग्री जिल्लाहरूमा पठाइसकिएको छ।
यस वर्ष एसइईमा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्, जुन अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ ले बढी हो। परीक्षा सञ्चालनका लागि देशभर २,०७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा १५० जना विद्यार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० विद्यार्थी बराबर एक जना निरीक्षक खटाइनेछ।
यस पटक बाल सुधार केन्द्र र कारागारसमेत गरी तीनवटा विशेष परीक्षा केन्द्र तोकिएको छ। काठमाडौँ र दैलेखका कारागार तथा भक्तपुरको बाल सुधार गृहबाट विद्यार्थीले परीक्षा दिनेछन्। साथै, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनका चार जना एचआईभी संक्रमित विद्यार्थी पनि एसइईमा सहभागी हुनेछन्।
एसइई परीक्षा चैत ७ देखि १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्या श्रमतर्फ अनिवार्य संस्कृत तथा मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ। चैत ८ मा अनिवार्य नेपाली, १० मा गणित, १२ मा विज्ञान तथा प्रविधि, १३ मा सामाजिक, १४ र १५ गते ऐच्छिक विषयका परीक्षा हुनेछन्।
परीक्षा परिणाम लेटर ग्रेडिङ प्रणालीमै सार्वजनिक गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयले यस वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखेको छ। गत वर्ष मात्र ४८ प्रतिशत विद्यार्थी पास भएका थिए।