काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध हवाई आक्रमणको आदेश दिएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले महत्त्वपूर्ण समुद्री मार्गमा जहाजहरूमाथि बारम्बार आक्रमण गरेपछि उनले निर्णायक कारबाहीको निर्देशन दिएका हुन्।
ट्रम्पले भनेका छन्, ‘अमेरिकी जहाज, वायुसेना र नौसेनाको सुरक्षाका लागि तथा नेभिगेसन स्वतन्त्रता पुनर्स्थापित गर्न हाम्रा बहादुर लडाकुहरू आतंकवादी लक्ष्य, नेताहरू र मिसाइल प्रतिरक्षा प्रणालीहरूविरुद्ध हवाई आक्रमण गरिरहेका छन्।’ उनले इरानलाई हुथी विद्रोहीहरूलाई समर्थन बन्द गर्न चेतावनी समेत दिएका छन्।
शनिबार राति अमेरिकी सेनाले यमनको राजधानी सना र उत्तरी राज्य सदामामा आकाश तथा समुद्रबाट आक्रमण गरेको छ। रोयटर्सका अनुसार अमेरिकी आक्रमणले हुथी विद्रोहीहरूको प्रतिरक्षा प्रणाली, राडार, मिसाइल तथा ड्रोन प्रणालीलाई लक्षित गरेको छ।
यस आक्रमणमा परी सना क्षेत्रमा १३ सर्वसाधारणको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। सदामा पनि ६ जनाको ज्यान गएको हुथी नियन्त्रित अल मसिरा टेलिभिजनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
इजरायलले गाजामा लगाएको नाकाबन्दीको विरोधमा हुथी विद्रोहीहरूले इजरायली जहाजहरूलाई आक्रमण गर्ने घोषणा गरेपछि अमेरिकाले कारबाही थालेको हो। यसअघि संयुक्त राज्य अमेरिका, इजरायल र बेलायतले पनि यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा हमला गरिसकेका छन्।