
काठमाडौं – साउदी अरबको जेद्दामा अमेरिका र युक्रेनी अधिकारीहरूबीच भएको शान्ति वार्तापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको ३०-दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको घोषणा गरेका छन्।
आठ घण्टा लामो वार्तापछि मंगलबार जेलेन्स्कीले युद्धविरामलाई सकारात्मक रूपमा लिएको बताउँदै रुसको सहमति आवश्यक रहेको उल्लेख गरे। अमेरिकाले युक्रेनसँग गुप्तचर साझेदारी पुनः शुरू गर्ने र सुरक्षा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
युक्रेनले युद्धविराम प्रस्तावमा हवाई र समुद्री आक्रमण रोक्ने, कैदीको आदानप्रदान तथा युक्रेनी बालबालिकाको फिर्ता समावेश गरेको छ। युरोपेली संघ र बेलायतले यसलाई सकारात्मक कदम भन्दै स्वागत गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गर्ने बताउँदै युद्धविराम चाँडै लागू हुने आशा व्यक्त गरेका छन्।