रुस-युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबमा युक्रेन-अमेरिका वार्ता

79 Shares

रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेनी र अमेरिकी अधिकारीहरूबीच साउदी अरबमा आज महत्त्वपूर्ण वार्ता हुँदैछ।

युक्रेनबाट राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीका कर्मचारी प्रमुख, रक्षा तथा विदेशमन्त्री, र उच्च सैनिक अधिकारीहरू वार्तामा सहभागी हुनेछन् भने अमेरिकाबाट पनि उच्च अधिकारीहरूको उपस्थिति रहनेछ।

वार्ताका लागि अमेरिकी विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज साउदी अरब जाँदैछन्।

वार्ताको पूर्वसन्ध्यामा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले साउदी राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गरिसकेका छन्, तर उनी वार्तामा भने सहभागी नहुने जनाइएको छ। रूस-युक्रेन युद्धका विभिन्न चरणमा साउदी अरबले मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ।

अघिल्लो शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बस्न लागेका हुन्।

अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनले युद्ध अन्त्यका लागि अमेरिकी मागहरू प्रति सकारात्मक दृष्टिकोण देखाएको छ। राष्ट्रपति जेलेन्स्कीले पनि आफ्नो हितका लागि रचनात्मक वार्ता गर्न प्रतिबद्ध रहेको बताएका छन्।

सम्बन्धित समाचार

सबै