65
Shares

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोल रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारीका २७ वर्षीय आशिष बुढाथोकी रहेका छन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार उनलाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो।
जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजी गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अनुरोधमा एनसिबी काठमाडौंले इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा रेड नोटिस जारी गराएको थियो।
पक्राउ परेका बुढाथोकीलाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।