काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।
आइतबार आयोजित पूर्वराजाको स्वागत कार्यक्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डका बिरुवा नष्ट भएको भन्दै महानगरले जरिवाना गरेको हो।
‘‘फागुन २५ गते पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशालालगायतका सार्वजनिक स्थानका सडक, सडकपेटी तथा आइल्यान्डमा रहेका बिरुवा र रेलिङमा क्षति पुर्याएको पाइएको छ। साथै, जथाभावी फोहोर फालेर वातावरण प्रदूषणसमेत गरिएकाले काठमाडौं महानगरपालिकाका विभिन्न कानुनअनुसार रु. १,००,००० (एक लाख रुपैयाँ) जरिवाना गरिएको छ,’’ महानगरका नगर प्रहरी निरीक्षक लीलाराज गाछा मगरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
उक्त पत्रको प्रतिलिपि निर्वाचन आयोग नेपाल, कान्तिपथ र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई समेत पठाइएको छ।
यसअघि, सत्तारुढ दल नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको कार्यक्रममा फोहोर व्यवस्थापनमा लापरबाही भएको भन्दै महानगरले सोही रकम बराबर जरिवाना गरेको थियो।