
कर्णाली। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कुनै पनि शर्त वा बहानामा सार्न नपाइने स्पष्ट पारेका छन्।
आज कर्णाली प्रदेश रंगशाला, वीरेन्द्रनगर सुर्खेतमा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय उद्घाटन गर्दै उनले आगामी जेठ ३ देखि १० गतेसम्म प्रतियोगिता तोकिएकै समयमा हुने बताए।
‘अब कुनै पनि बहाना चल्ने छैन। सातै प्रदेशका मन्त्री तथा सदस्य सचिवहरूलाई आजै पत्र पठाइनेछ,’ उनले भने, ‘तर, प्रतियोगिता सहज बनाउन कर्णाली प्रदेशको सदस्यसचिव जतिसक्दो चाँडो नियुक्त गर्न आवश्यक छ।’
मन्त्री चौधरीले कर्णाली प्रदेश रंगशाला निर्माणमा योगदान दिने पूर्व र बहालवाला मुख्यमन्त्रीहरूलाई धन्यवाद दिए। साथै, पत्रकारहरूलाई प्रतियोगिता नहुने भन्ने भ्रम सिर्जना नगर्न आग्रह गर्दै, जेठ महिनाको गर्मीका बाबजुद राष्ट्रिय रेकर्ड कायम गर्ने लक्ष्यसहित प्रतियोगिता सम्पन्न गरिने प्रतिबद्धता जनाए।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले मौसमका कारण चुनौतीहरू देखिए पनि आयोजक पक्षलाई अन्योल सिर्जना हुने गरी काम नगर्न आग्रह गरे।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीका लागि गौरवको विषय भएको बताइन्। मुख्यमन्त्री कँडेलले पनि आयोजक समितिसँग समन्वय गरेर व्यवस्थापनका काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे।