काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हालेयता अमेरिकाबाट ३६ नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयकी सूचना अधिकारी सीता परियारका अनुसार पछिल्लो समय अमेरिकाबाट डिपोर्ट भएर आउने नेपालीहरूको संख्या बढेको छ।
“२०७८ माघ ७ गतेदेखि हालसम्म अमेरिकाबाट ३६ जना नेपाली डिपोर्ट भएर आएका छन्,” परियारले बताइन्, “पहिल्यै पनि अमेरिकाबाट नेपाली डिपोर्ट हुने गरेका थिए, तर हालै आएर संख्या केही वृद्धि भएको देखिन्छ।”
ट्रम्पले २०७८ माघ ७ गते राष्ट्रपतिको कार्यभार सम्हालेपछि आप्रवासन नीतिमा कडाइ गर्दै अवैध रूपमा अमेरिका प्रवेश गरेकाहरूलाई डिपोर्ट गर्ने घोषणा गरेका थिए। राष्ट्रपतिको शपथ लगत्तै उनको प्रशासनले १,३६५ नेपालीसहित १४,४५,५४९ जना आप्रवासीलाई डिपोर्टको सूचीमा राखेको थियो।
यसै क्रममा, फागुन २१ गते मात्र अमेरिकाले नौ जना नेपालीलाई काठमाडौं फर्काएको छ।
डिपोर्ट गरिएका नेपालीबारे नेपाल सरकारले पूर्वजानकारी नपाए पनि फागुन २१ गते डिपोर्ट गरिएका आठ जना नेपालीसम्बन्धी सूचना ट्रम्प प्रशासनले पठाएको थियो। “डिपोर्ट भएकाहरू नेपाल आइपुग्ने दिन अमेरिकाले इमेलमार्फत जानकारी दिएको थियो। उनीहरूलाई अवैध रूपमा अमेरिका प्रवेश गरेको, गलत मनसायले बसेको वा बिना भिसा बसेको आरोप लागेको थियो,” परियारले भनिन्।
डिपोर्ट भएर आएकाहरूलाई त्रिभुवन विमानस्थलमा नै प्रहरीलाई बुझाइने गरिन्छ। विशेषगरी मानव तस्करको प्रभावमा परी अवैध रूपमा अमेरिका पुगेका कारण प्रहरीले उनीहरूलाई आवश्यक सोधपुछ गर्ने गर्छ।
सन् २०२४ मा विभिन्न देशहरूले १,२२८ नेपालीलाई डिपोर्ट गरेका थिए, जसमा अमेरिका मात्रबाट ३५ नेपाली डिपोर्ट भएका थिए। तर, सन् २०२५ को सुरुआती डेढ महिनामै यो संख्या पार गरेको छ।