काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय गरेको हो। समितिमा समेटिने अन्य दुई सदस्यको टुंगो आजै लगाइने सूचना प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।
हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल आगामी चैत २४ गते सकिँदै छ। उनको कार्यकाल समाप्त हुने करिब एक महिना बाँकी छँदै सरकारले नयाँ गभर्नर चयन प्रक्रिया अघि बढाएको हो।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार गभर्नर नियुक्त गर्नुअघि सरकारले अर्थमन्त्रीको नेतृत्वमा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ। सो समितिमा पूर्वगभर्नरमध्ये एकजना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एकजना रहनेछन्। समितिले तीन योग्य व्यक्तिहरूको नाम सिफारिस गर्नेछ, जसबाट मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्नेछ।
ऐनअनुसार, गभर्नरको सिफारिस सूचीमा कम्तीमा एक जना डेपुटी गभर्नरसमेत समेट्नुपर्ने प्रावधान छ। हालका दुई डेपुटी गभर्नर स्वतः आकांक्षी छन् भने राष्ट्र बैंककै पूर्व निर्देशक, पूर्व प्रशासक तथा विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू पनि गभर्नर पदका दाबेदार देखिएका छन्।
नेपालका नियामक निकायहरूमध्ये सबैभन्दा स्वायत्त, कानुनी, प्राविधिक र जनशक्ति दृष्टिले बलियो संस्थाको रूपमा नेपाल राष्ट्र बैंकलाई लिइन्छ। यसैले नयाँ गभर्नर चयन प्रक्रियालाई व्यापक चासोका साथ हेरिएको छ।