
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक राखिएको विषयमा संसदमा आपत्ति जनाएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरण नाफामा गइरहेको अवस्थामा घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनु अनुचित भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
‘विद्युत् प्राधिकरणलाई नाफामा पुर्याउने व्यक्तिलाई शून्य अंक दिनु गलत हो । यस्तो निर्णयको कारण के हो ? आज, भोलि, पर्सी स्पष्टीकरण के हो ? सरकार स्पष्ट हुनुपर्छ,’ पाण्डेले भने ।
उनले सभामुखमार्फत सरकारलाई निर्देशन दिन माग गर्दै, यदि रुलिङ नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कुलमान घिसिङलाई तोकिएको समयभन्दा ढिला कार्यसम्पादन प्रतिवेदन बुझाएको भन्दै आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा शून्य अंक दिइएको हो । मन्त्रालयले पुस २२ गते उनलाई स्पष्टीकरण सोध्दै लिखित जवाफ माग गरेको थियो ।