
बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रुस–युक्रेन युद्ध अन्त्य गर्न तथा युक्रेनलाई रक्षाका लागि युरोपेली देशहरूको गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ। यसका लागि चारसूत्रीय योजना सार्वजनिक गर्दै अमेरिकालाई समेत समावेश गर्ने योजना रहेको उहाँको भनाइ छ।
युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्की, फ्रान्स, बेलायतसहित १८ युरोपेली देशका नेताहरूको सम्मेलनपछि प्रधानमन्त्री स्टार्मरले आफूहरू इतिहासको महत्त्वपूर्ण मोडमा रहेको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ।
बैठकमा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने तथा रुसमाथिको आर्थिक दबाब बढाउने सहमति भएको छ। साथै, युद्ध अन्त्यका लागि युक्रेनको सुरक्षा ग्यारेन्टी र सार्वभौमिकताको रक्षा प्राथमिकतामा राखिएको छ।
युरोपेली देशहरूले दीर्घकालीन शान्ति स्थापनाका लागि इच्छुकहरूको गठबन्धन निर्माण गर्ने सहमति गरेका छन्।