बेलायतमा सम्पन्न युरोपेली नेताहरुको शिखर सम्मेलनपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताउनुभएको छ।
सम्मेलनका क्रममा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्ति स्थापनाका लागि चार चरणीय योजना प्रस्तुत गरेपछि जेलेन्स्कीले उक्त धारणा व्यक्त गर्नुभएको हो।
स्टार्मरले फ्रान्स र अन्य केही युरोपेली देशसँग मिलेर युक्रेन युद्धविराम प्रस्ताव तयार पारिने उल्लेख गर्दै उक्त प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष राख्ने बताउनुभएको छ।
यसैबीच, युक्रेनलाई सुरक्षा ग्यारेन्टीबारे छलफल गर्न बेलायती प्रधानमन्त्री स्टार्मरले युरोपेली देशहरू तथा क्यानडाका नेताहरूसँग बैठक आयोजना गर्नुभएको थियो। बैठकमा इटाली, फ्रान्स, जर्मनी, क्यानडा, नेदरल्यान्ड्स, डेनमार्क, नर्वे, पोल्यान्ड, स्पेन, फिनल्यान्ड, स्वीडेन, चेक गणराज्य र रोमानियाका नेताहरू सहभागी भएका थिए। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ब्युँझिएको टिप्पणी गर्नुभएको छ।
त्यसैगरी, बेलायत र युक्रेनबीच साढे दुई अर्ब पाउन्डको ऋण सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। युक्रेनले यो रकम सैन्य उपकरण खरिदका लागि प्रयोग गर्ने बताइएको छ।
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच चर्काचर्की भएपछि रुससँगको शान्ति सम्झौता र खनिज सम्झौतासम्बन्धी वार्ता निष्कर्षविहीन बनेको थियो।







