स्वास्थ्य बीमाको औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैन : स्वास्थ्यमन्त्री पौडेल

47 Shares

आज इलाम अस्पतालको अनुगमन गर्दै उहाँले स्वास्थ्य बीमा बोर्डले तोकेका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताउनुभएको हो । औषधि छैन भन्नु गैरकानूनी रहेको र तोकिएका औषधि अनिवार्य राख्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।

सरकार तथा स्वास्थ्य बीमा बोर्डले ९८ प्रकारका औषधिमा सुविधा तोकेका छन् । तोकिएका औषधि अनिवार्य राख्न उहाँले आग्रह गर्नुभयो ।

डाक्टरले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको र त्यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक काम अगाडि बढाएको उहाँको भनाइ छ ।

स्वास्थ्य बीमाको व्यवस्थापनमा केही समस्या भए पनि यसलाई सुधार गर्न लागेको मन्त्री पौडेलले बताउनुभएको छ ।

इलाम अस्पतालले स्वास्थ्यमन्त्री पौडेललाई लिखित ज्ञापनपत्र बुझाउँदै अस्पतालको भौतिक संरचनाका विषयमा जानकारी गराएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्य मन्त्री पौडेलले पालिकामा निर्माण भएका आधारभूत अस्पतालबाट चाँडै नै सेवा सञ्चालन हुने बताउनुभएको छ ।

देशका ५७ वटा पालिकामा आधारभूत अस्पताल निर्माण भइसकेको जानकारी दिँदै उहाँले मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन गर्न छुट्टै नीति बनाइरहेको पनि बताउनुभयो ।

पाँचथरको फालेलुङ गाउँपालिकामा निर्माण भएको पाँच शय्याको आधारभूत अस्पतालको हिजो उद्घाटन गर्दै मन्त्री पौडेलले नयाँ नीतिअनुसार आधारभूत अस्पताल सञ्चालन हुने बताउनुभयो ।

सम्बन्धित समाचार

सबै