पोखरामा कोटिहोम रोक्न मेयर आचार्य उच्च अदालतमा

321 Shares

पोखरा । पोखराको लेकसाइडस्थित क्याम्पिङ चौर र नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा हुन लागेको कोटिहोम रोक्न महानगरपालिकाका मेयर धनराज आचार्य उच्च अदालत पोखरा पुगेका छन् ।

मेयर आचार्यले वारेसमार्फत निवेदन दर्ता गराउँदै अदालतको अघिल्लो आदेश बदरको माग गरेका हुन् । यसअघि, उच्च अदालत पोखराले कानुनी रूपमा बाधा नपर्ने अन्य कुनै कारणबिना कोटिहोममा अवरोध नगर्न आदेश दिएको थियो ।

महानगरपालिकाले अदालतमा पेश गरेको निवेदनमा फेवाताल किनाराको ६५ मिटरको सीमाभित्र पर्ने क्षेत्रमा कोटिहोम गर्न नमिल्ने उल्लेख गरिएको छ । साथै, पोखरामा अन्य उपयुक्त स्थानमा यज्ञ गर्न महानगर तयार रहेको जनाइएको छ ।

महानगरको कार्यपालिका बैठकले कोटिहोम गर्न नदिने निर्णय गरेको थियो भने नेपाल ट्रस्टलाई पनि सहमति रद्द गर्न पत्र पठाइसकेको छ । तर, आयोजक पक्षले भाडाबापतको रकम बुझाइसकेको र कार्यक्रमको तयारी थालेपछि टकराव बढेको हो ।

यसैबीच, कोटिहोमका लागि समिधा संकलनका क्रममा पोखराका विभिन्न स्थानमा ऐतिहासिक रुखहरू काटिएको भन्दै विवाद उत्पन्न भएको थियो । सुरुमा महानगरले अनुमति दिए पनि पछि आलोचना भएपछि निर्णय फेरेको थियो ।

नेपाल ट्रस्टले जग्गा भाडामा दिन महानगरको अनुमति आवश्यक नरहेको स्पष्ट पारेपछि विवाद अझ चर्किएको हो । ट्रस्टको निर्णयविरुद्ध अदालतमा पुगेका मेयर आचार्यले अदालतको अघिल्लो आदेश बदर गर्न माग गरेका छन् ।

सम्बन्धित समाचार

सबै