काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज (सोमबार)देखि ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ सुरू गर्दैछ । अभियानको उद्घाटन झापाको बनियानी बजारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।
अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा झापाका युवा नेता रञ्जित तामाङका अनुसार कार्यक्रम दिउँसो १२ बजे कचनकवल गाउँपालिका–७, बनियानी बजारमा हुनेछ । माओवादीले गत पुस २३ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकमार्फत हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस अभियान अन्तर्गत १३ गते मोरङ, १५ गते सुनसरी हुँदै १६ गते मधेस प्रदेशको सप्तरीमा कार्यक्रम हुनेछ । मधेसका सबै जिल्लाहरूमा सम्पन्न भएपछि बागमती हुँदै गण्डकी, लुम्बिनी, तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अभियान सञ्चालन हुनेछ । अभियान चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ ।
माओवादी केन्द्रका अनुसार अभियानका क्रममा राष्ट्रिय राजनीतिक अवस्था, पार्टीका नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याउने, संगठन विस्तार गर्ने र जनतासँग सुझाव संकलन गर्ने लक्ष्य राखिएको छ ।