रौतहटको बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

192 Shares

शुक्रवार राती देखि परेको अविरल बर्षाका कारण बागमती र लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि रौतहट जिल्लाका नदी किनारका बस्तीहरूमा बाढीको जोखिम बढेको छ ।
रौतहटको वृन्दावन नगरपालिका ,कटहरिया नगरपालिका,राजपुर नगरपालिका, गुजरा नगरपालिका, इशनाथ नगरपालिका ,देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका,दुर्गा भगवती गाउँपालिका ,राजदेवी नगरपालिका र गौर नगरपालिका बाढीको उच्च जोखिम क्षेत्रको रुपमा रहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल रौतहटले जोखिमयुक्त क्षेत्रमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । नदी किनार क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह र समुदायबिच समन्वय गरी उद्धारका लागि आवश्यक सामग्रीहरू डुङ्गा, डोरी, र लाइफ ज्याकेट तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक राम हरि अधिकारीले जानकारी दिनु भयो ।
वृन्दावन नगरपालिका–१ मा नदी किनारमा रहेका १२७ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनु भयो ।
त्यस्तै राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलमले बाढीका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । लाल बकैया नदीमा लगातार पानीको बहाव बढिरहेको कारण ठूलो बाढीको जोखिम उत्पन्न भएकोले सजग भएर बस्न उहाँले आग्रह गर्नु भएको छ ।
नगरप्रमुख डा.आलमले विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायहरूलाई तयारी अवस्थामा रहन आग्रह गर्नु भएको छ साथै नदी आसपासका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगर्न,बालबालिकालाई नदी किनारमा जान नदिन, स्थानीय प्रशासन वा प्रहरीको निर्देशन पालना गर्न अनुरोध गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले बिपद आइ परेको अबस्थामा आवस्यक पर्ने उद्धारका सामग्री सम्बद्ध सबै निकायले तयारि अबस्थामा राख्न, सुरक्षा निकाय र आम संचारका माध्यम मार्फत आम नागरिकलाई सतर्कता अपनाउन जानकारी गराउने तथा स्थानिय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउंदै जिल्ला विपद व्यवस्थापन समितिक क्लस्टर लिड र क्लस्टर को–लिडले स्वीकृत प्रतिकार्य योजना अनुरुप तयारि अबस्थामा रहन अनुरोध गर्नु भएको छ ।
पुर्व पश्चिम राजमार्गको बागमती देखि धन्सार खोला सम्म रातको समयमा सवारी साधन चलाउँदा स्थानिय सुरक्षा निकायसंग समन्वय गरि सुरक्षा निकायको सल्लाह सुझाव बमोजिम गर्न तथा उच्च जोखिम क्षेत्र भित्र पर्ने सडकमा यात्रा नगर्न उहाँले अनुरोध गर्नु भएको छ ।

सम्बन्धित समाचार

सबै