चितवन — प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षसँगै देशमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका छन्। चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पछिल्ला घटनाक्रमहरू र नयाँ अनुभवका आधारमा यस्तो संकेत गरेका हुन्।
अध्यक्ष प्रचण्डले भने, “परिस्थिति यति जटिल बन्दैछ कि यो सरकारका लागि धेरै अगाडि जान सहज देखिँदैन। जनआक्रोश बढ्दो छ, र सरकारमै रहेका दलहरू पनि झण्डैझण्डै सडकमा आइपुगेका छन्। यस्तो अवस्थामा कुनै न कुनै निकास अवश्य आउनेछ भन्ने लाग्छ।”
यसअघि पनि एक टेलिभिजन अन्तर्वार्तामा उनले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने संकेत दिएका थिए। उनले ठूलो दलको नेतृत्वमा सरकार बन्ने हो भने त्यो अधिक उपयुक्त हुने धारणा दोहोर्याए।
“मैले पहिलेबाटै ठूला दलको नेतृत्वमा सरकार बन्नुपर्छ भनेको थिएँ। अहिले नयाँ अनुभव र घटनाक्रमले पनि त्यही देखाउँदैछन्। देशको यात्रा त्यही दिशातिर जान सक्छ,” उनले भने।
यद्यपि उनले यसबारे धेरै टिप्पणी नगर्न आग्रह गर्दै भने, “पछिल्लो घटनाक्रम केही नयाँ खालका छन्। त्यसैको आधारमा मैले यो कुरा उठाएको हुँ।”