वीरगञ्ज, पर्सा — हनुमान जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच तनाव उत्पन्न भएपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक जारी छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा बिहान साढे ७ बजेदेखि बैठक सुरु भएको हो।
शनिबार साँझ ६ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म वीरगञ्जमा कफ्र्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिनका लागि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको हो।
शनिबार हनुमान जन्मोत्सवका अवसरमा निस्किएको शोभायात्राका क्रममा दुई समूहबीच ढुंगा हानाहान भएको थियो। झडपमा ३७ जना घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका १७ जना (प्रमुख गौतम मिश्रसहित), सशस्त्र प्रहरीका ८ जना (नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित) र १२ जना सर्वसाधारण रहेका छन्।