तीनकुनेको हिंसात्मक घटनामा संलग्नहरू पक्राउको क्रम जारी : गृहमन्त्री लेखक

251 Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्नहरूलाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा बोल्दै उनले प्रदर्शनका मुख्य योजनाकार दुर्गा प्रसाई पक्राउ परिसकेको र अन्य दोषीलाई पनि कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

घटनामा घाइते भएका व्यक्तिहरूको उपचार सरकारले गर्ने निर्णय भइसकेको उल्लेख गर्दै उनले औषधि किन्नुपर्ने भएमा पनि खर्च सरकारले बेहोर्ने स्पष्ट गरे । साथै, मृत्यु भएका दुई जनाका परिवारलाई राहतस्वरूप १०-१० लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए ।

गृहमन्त्री लेखकले तीनकुनेको प्रदर्शनलाई संविधान च्यात्ने र लोकतान्त्रिक व्यवस्था मास्ने नियोजित प्रयासको रूपमा व्याख्या गरे । उनले भने, “लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित हुँदैन । हिन्दू धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्नु हुँदैन ।”

उनको भनाइमा वर्तमान संविधान र लोकतन्त्रप्रति असन्तुष्टि राख्न पाइने भए पनि त्यसको विकल्प खोज्ने वा हिंसात्मक बाटो रोज्ने छुट छैन । “सरकार यस्ता घटनालाई गम्भीरतापूर्वक लिएको छ, र नियोजित आतंक तथा अराजकताविरुद्ध कडा कदम चाल्नेछ,” उनले भने ।

सम्बन्धित समाचार

सबै