काठमाडौं, २१ फेब्रुअरी – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले अभिव्यक्ति स्वतन्त्रता हनन नगर्ने स्पष्ट पारेका छन्। आज ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको लोकार्पण गर्दै उनले भने, “हामीले बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएका हौं, त्यसैले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता मिच्ने कुनै काम हुने छैन।”
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल विधेयकको मस्यौदा माओवादी केन्द्रसँगै तयार पारिएको बताए। उनले केही व्यक्तिहरूले अब अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् भन्ने टिप्पणी गर्दै भने, “स्वतन्त्रताका नाममा देशको विरुद्ध काम स्वीकार्य छैन।”
स्वीस बैंकमा आफूले पैसा राखेको जस्तो भ्रम फैलाइएको प्रसङ्गमा, ओलीले भने, “मैले सम्पति लुकाउनु पर्ने केही कारण छैन। मेरो जीवन खुल्ला र पारदर्शी छ।” उनले सुशासनको महत्त्वको बारेमा जोड दिँदै, समृद्धि प्राप्तिका लागि सरकार छिटो कानुनी प्रक्रिया अघि बढाइरहेको बताए।