नेप्से सुधार नगरे बिचौलियाको स्वार्थमा डुब्ने सांसद केसीको चेतावनी

267 Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पब्लिक प्राइभेट पार्टनरसिपको आधारमा सुधार नगरेसम्म बिचौलियाको स्वार्थमा डुब्ने चेतावनी दिएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेप्सेको पुनर्संरचना गरेर मात्र निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्जको लाइसेन्स दिन उपयुक्त हुने बताएका हुन्।

“खर्बौंको यो संस्था र सेयरहोल्डरको सुरक्षाका लागि नेप्सेलाई पब्लिक प्राइभेट पार्टनरसिपको आधारमा सुधार नगरेसम्म बिचौलियाको स्वार्थमा नेप्से डुब्ने निश्चित छ,” केसीले भने। उनले स्वच्छ प्रतिस्पर्धा र नेप्सेको सुव्यवस्थापनलाई राष्ट्रिय चासो बताउँदै निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्ज दिने कुरा समर्थन गरे, तर त्यसका लागि नेप्सेको पुनर्संरचना आवश्यक भएको बताए।

केसीले सरकारले सेयर स्वामित्व राखेर निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्ज दिनु सर्वथा गलत भएको विचार व्यक्त गरे। “सरकार नियामक र प्रतिस्पर्धी दुवै हुन सक्दैन,” उनले भने।

सांसद केसीले नेपाल स्टक एक्सचेन्जको व्यवस्थापनमा सुधारको आवश्यकता रहेको र सरकार र सरकारी संस्थाले नेप्सेको स्वामित्व ओगटेर बस्न नहुने भन्दै भारत, चीन र बंगलादेशका उदाहरण प्रस्तुत गरे। “नेपालमा ९० प्रतिशत सेयर सरकारी संस्थाका हातमा छ,” उनले भने।

सम्बन्धित समाचार

सबै