सामाजिक सुरक्षा भत्ता लिने नागरिकले सहजै रूपमा आफ्नो रकम लिऊन् भन्दै सरकारले बैङ्कमार्फत भुक्तानीको व्यवस्था मिलाएको छ तर रौतहटमा भने बैङ्कहरूले त्यसको उचित व्यवस्थापन गर्न नसक्दा नागरिकले सास्ती बेहोर्नु परेको छ ।
स्थानिय तहले सामाजिक सुरक्षा भत्ता निकासा गरे पछि लक्षित समुदायलाई बैङ्कमा गएर भत्ताबापतको रकम निकाल्न मुस्किल पर्ने गरेको छ । बैङ्कहरूले व्यवस्थापन गर्न नसक्दा ज्येष्ठ नागरिक तथा फरक क्षमता भएकाहरू घण्टौँ लाम लाग्न बाध्य हुने गर्दछन ।
लामो समयसम्म लाम लागेर भत्ता लिनुपर्ने बाध्यता रहेको वृन्दावन नगरपालिका–७ , सखुअवा धमौरा का ८० वर्षीय राम लखन साहले बताए । वृद्धावस्थामा घरबाट हर्शाहामा रहेको माछापुच्छ्रे बैंकसम्म आउन नै समस्या छ, भनेको बेला सवारी पाइँदैन, बैङ्कमा वृद्धवृद्धालाई बस्ने ठाउँसमेत छैन साथै अशक्त नागरिकहरू घण्टौँ खाली भुइँमा बस्न बाध्य छन्, उनले भने । भत्ता निकाल्न बैङ्कमा दिनभरि लाममा बस्नुपर्ने लगायतका समस्या हुँदासमेत सम्बन्धित निकायले सहज बनाउनेबारे केही ध्यान नदिएको वृन्दावन नगरपालिका–५ नरकटियाका ७० वर्षीय अच्छेलाल रायले बताए । बृद्धबृद्धा को यो दुःख बारे स्थानिय सरकारलाइ बारम्बार भने पनि चासो लिने नगरेको उनले भने । त्रैमासिक भत्ता बुझ्न आउँदा बृद्धबृद्धालाइ बैंकमा बिभिन्न समस्या हुने गरेको वृन्दावन नगरपालिका–४ , हर्दिया पल्टुवा कि सुगान्धि देवीले बताए ।
घाम होस्,चिसो होस् या पानी परोस,स्थानिय तह तथा बैंकलाइ त्यससंग कुनै सरोकार नहुँदा आफुहरुलाइ गाउँ गाउँमा सिंहदरवार आएको अनुभूति नै भएको उहाँले गुनासो पोखे । बैंक कर्मचारीको व्यवहारले झनै आफुहरुलाइ दुखि बनाउने गरेको बताउदै उनले बैंक कर्मचारीलाई बृद्धबृद्धा,फरक क्षमता भएका व्यक्ति लगायतकासंग कस्तो व्यवहार गर्नु पर्ने बारे प्रशिक्षणको खाँचो रहेको उनले भने ।
सामाजिक सुरक्षा भत्ता वितरणको काउन्टर छुट्टै नहुँदा घन्टौ लाइनमा बस्नु पर्ने,भुँइ तल्लामा बैंक नहुँदा भर्याङ्ग चढन बृद्धबृद्धा तथा फरक क्षमता भएकालाई गाह्रो हुने भएकोले यस्ता समस्या समाधान तर्फ स्थानिय तह तथा बैंक गम्भीर हुनु पर्ने स्थानीयले बारम्बार मांग गरे पनि सुनुवाई गर्ने निकाय मौन बस्दा समस्या यथावत रहेको छ ।
स्थानीय तहसँग समन्वय गरी स्वास्थ्यको दृष्टिकोणले संवेदनशील लाभग्राहीलाई बैंकले घरदैलो सेवा सुरुवात गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकले अनिवार्य रुपमा भुइँ तल्लामै बैंक राख्ने लगायता कुरामा ध्यान पुर्याउन तत्काल आबश्यक रहेको वृन्दावन नगरपालिका–४ का वडा अध्यक्ष श्याम नन्दन रायले बताए । रौतहटमा अधिकांश बैंक भुँइ तल्लामा नहुँदा सामाजिक सुरक्षा पाउने लाभग्राहिले समस्या झेल्दै आएका छन् ।
वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता संघ सरकारले मात्र गर्न सक्ने बताए ।