घरेलु हिंसा पिडित महिलालाई इन्सेकको सहयोग

28 Shares

घरेलु हिंसाबाट पीडित एक महिलालाई इन्सेक मधेश प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ की २८ वर्षीया महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले इन्सेक मधेश प्रदेश कार्यालयले आर्थिक सहयोग रकम प्रदान गरेको हो ।
पीडित महिलालाइ ज्यानै मार्ने उद्देश्यले कुटपिट गरेको र वैवाहिक बलात्कारको मुद्दा जिल्ला अदालत गौरमा दर्ता रहेको तथा न्यायिक प्रक्रिया चालु रहेको अवस्थामा पीडितलाई अदालत जान आउन समेत समस्या भएको भन्दै आर्थिक सहयोग स्वरूप रु १० हजार रुपैयाँ प्रदान गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडा शाखा प्रमुख दीपिका ओझाको सिफारिशमा इन्सेक मधेश प्रदेश कार्यालयले आर्थिक सहयोग उपलब्ध गराएको इन्सेक रौतहट जिल्ला प्रतिनिधि गौरी न्यौपानेले बताए ।
आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गरेको उनले बताए ।
पिडित महिलाका अनुसार आफ्नै श्रीमान् फतुवा विजयपुर– ६ का ३० वर्षीय उमाशंकर कुशवाहाले ज्यानै मार्ने उद्देश्यले कुटपिट गरेको र मादक पदार्थ सेवन गरी जबरजस्ती बलात्कार अर्थात् वैवाहिक बलात्कार गरेकाले जिल्ला अदालत गौरमा मुद्दा दर्ता गराएको बताए ।

सम्बन्धित समाचार

सबै