रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुनु भएका रास्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार राजेश कुमार चौधरीले क्षेत्रमा आमुल परिवर्तनको लागि आफु अहोरात्र खटिने बताउनु भएको छ । निर्वाचित भए पछि संचारकर्मी संग प्रतिक्रिया दिदै उहाँले यहाँको जनताको मुख्य आबश्यकताको रुपमा रहेको शिक्षा,स्वास्थ्य र कृषिमा सुधारको लागि आफु कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । खस्कदो शिक्षाको गुणस्तर बढाउन ,गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आधुनिक कृषिमा सवैको पहुँच पुर्याउन आफु आजै देखि प्रतिबद्ध भएर लाग्ने उहाँले बताउनु भयो ।
पुराना राजनीतिक दलले गरेको नराम्रो कामकै कारण जनता अहिले रास्ट्रिय स्वतन्त्र पार्टीलाई पत्याएको र जनादेश दिएको बताउंदै उहाँले रास्वपा देश र जनताको लागि काम गर्ने बताउनु भयो ।
भ्रस्टाचार,बेथितिको अन्त्य गर्दै सुशासन कायम,समुन्नत समाज निर्माणमा आफु लाग्ने उहाँले भन्नु भयो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा रौतहट १ बाट पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी हुनु भएको थियो । सो निर्वाचनमा रास्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार सूर्यदेव प्रसाद कोइलाराले १६३ मत मात्र पाउनु भएको थियो । तर यसपटक उम्मेदवार स्वयंको व्यक्तिगत मताधारका कारण रास्वपाले जित हासिल गरेको छ । उहाँले २८ हजार ९४६ मत ल्याई जित हासिल गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अजय कुमार गुप्ताले १० हजार ६९३ मत पाउनु भएको छ ।यस निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टिका सह संयोजक तथा पुर्व प्रधानमन्त्री नेपाल ७ हजार ६६९ मत ल्याई चौथो स्थान हासिल गर्नु भएको छ ।
२०२८ भदौ ४ मा जन्मिनु भएका रास्वपाबाट बिजयी चौधरी रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं. १ गंगापिप्राका स्थानीय हुनु हुन्छ । कृषि क्षेत्रमा सक्रिय रहनु भएका चौधरी प्रविणता प्रमाण पत्र तह उतीर्ण हुनु हुन्छ ।
२०५४ सालमा नेकपा एमालेको सदस्यता लिनु भएका चौधरी २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार हुनु हुन्थ्यो । नेपाली काङ्ग्रेश रौतहटको जिल्ला सचिव रहनु भएका चौधरीलाइ प्रदेश सभा निर्वाचनमा पार्टिले उम्मेदवार नबनाए पछि उहाँले पार्टि परित्याग गर्दै स्वतन्त्र उम्मेदवार हुनु भएको थियो । रौतहट क्षेत्र नं. १ (ख) बाट स्वतन्त्र उम्मेदवार रहनु भएका चौधरीले ११ हजार ४०० मत ल्याउनु भएको थियो । सो निर्वाचनमा उहाँ नेपाली कांग्रेसका कृष्णप्रसाद यादवसँग पराजित हुनु भएको थियो । यादवले १२ हजार ४८९ मत प्राप्त गर्नु भएको थियो । उहाँ २०७४ सालमा समेत प्रदेश सभा सदस्यको उम्मेदवार हुनु हुन्थ्यो ।त्यस बेला उहाँ नेपालि कांग्रेशबाट रौतहट क्षेत्र नं. १ (ख) मा उम्मेदवार भइ ८ हजार ६७९ मत ल्याउनु भएको थियो । सो निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालका योगेन्द्र राय यादव ८ हजार ९५७ मतका साथ विजयी हुनुभएको थियो ।