रौतहट/ रौतहटमा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानको दोस्रो चरण शुक्रबार देखि सुरु हुने भएको छ ।
अभियानलाई प्रभावकारी बनाउन कटहरिया नगरपालिकामा सरोकारवाला बीच अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न गरिएको हो । कटहरिया स्वास्थ्य समितिद्वारा आयोजित कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रतिनिधि तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कटहरिया नगरपालिकाको उपमेयर रीता देवी यादवले अभियानलाई “भविष्यको पुस्ता जोगाउने स्वास्थ्य अभियान” भन्दै छुटेका बालिकाको खोजी, नियमित अनुगमन र जिम्मेवारीमा कडाइ गर्न निर्देशन दिइन् ।
“क्यान्सर र खोपबारे अझै जनचेतनाको कमी छ । लक्षण देखिए पछि मात्र अस्पताल जाने प्रवृत्ति बदल्नुपर्छ,” उनले भनिन् । प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले लक्ष्य पूरा गर्न समुदायमै पुगेर खोजबिन गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै काममा लापरबाही भए कारबाही हुने चेतावनी दिए ।
को–कोलाई लगाइन्छ खोप ?
डब्लु एच ओ का प्रतिनिधि राजीव शर्माका अनुसार यस वर्षः कक्षा ६ मा अध्ययनरत सबै बालिका, कक्षा ७–१० मा अध्ययनरत तर गत वर्ष छुटेका, विद्यालय नजाने १०–१४ वर्ष उमेर समूहका किशोरीलाई प्राथमिकतामा राखेर खोप लगाइने छ ।
उनले एचपिभी खोप सुरक्षित रहेको स्पष्ट पार्दै बाँझोपन वा गम्भीर साइड इफेक्टबारेका हल्ला भ्रामक भएको बताए । “विश्वभर लाखौँ किशोरीहरुलाई यो खोप लगाइसकेको छ, यसले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन प्रभावकारी भूमिका खेल्छ,” उनले भने ।
किन आवश्यक छ एचपीभी खोप?
प्रशिक्षक अनिल यादवका अनुसार एपिभी संक्रमण दीर्घकालीन रूपमा पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हो । संक्रमण १५–२० वर्षपछि क्यान्सरमा परिणत हुन सक्छ, असामान्य योनिस्राव, पेट दुखाइ, यौन सम्पर्क पछि रगत देखिनु प्रारम्भिक लक्षण हुन सक्छ, उनले खोपसँगै भीआईए स्क्रिनिङ परीक्षण पनि अनिवार्य जस्तै भएको उल्लेख गरे ।
“पहिले खोप, त्यसपछि नियमित परीक्षण—यही उपायले क्यान्सर नियन्त्रण सम्भव छ ।”
९०–९०–९० रणनीति अपनाइँदै
विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार, ९०% किशोरीलाई खोप ३०–४९ वर्ष समूहका ९०% महिलामा स्क्रिनिङ र पहिचान भएका ९०% बिरामीलाई उपचार गर्ने रणनीति अवलम्बन गरिएको स्वास्थ्यकर्मीहरूले जानकारी दिए ।
विद्यालय केन्द्रित अभियान, निःशुल्क सेवा
स्वास्थ्य संयोजक दिनेश यादवका अनुसार कटहरिया नगरपालिका भित्र कक्षा ६ मा अध्ययनरत ४५५ जना छात्रा तथा समुदायमा रहेका १०–१४ वर्ष उमेर समूहका ७६७ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
भोली देखि नगरका सबै विद्यालयमा खोप केन्द्र स्थापना गरी बिहान १० बजेदेखि सेवा सुरु गरिनेछ । स्वयंसेविका, शिक्षक, मदरसा तथा धार्मिक अगुवासँग समन्वय गरेर सूचना प्रवाह गरिएको छ ।
खोप निःशुल्क उपलब्ध हुनेछ । खोप लगाएपछि ३० मिनेट स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्ने हुन्छ । गम्भीर एलर्जी वा विशेष स्वास्थ्य समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्ने जनाइएको छ ।
अभियान कटहरियामा पाँच दिनसम्म सञ्चालन हुने
जिल्ला स्वास्थ्य कार्यालय रौतहटका अनुसार पहिलो चरण माघ २५ गतेदेखि फतुवा विजयपुर, बौधिमाई, मौलापुर, गढिमाई, ईशनाथ, परोहा, देवाही गोनाही र राजपुर नगरपालिकामा सम्पन्न भइसकेको छ भने दोस्रो चरण फाल्गुन १ गतेदेखि चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा, माधव नारायण, गौर, कटहरिया, राजदेवी नगरपालिका तथा यमुनामाई र दुर्गा भगवती गाउँपालिकामा सञ्चालन हुन गइरहेको छ ।