सभामुख घिमिरे उज्वेकिस्तान प्रस्थान, दुई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता

204 Shares

काठमाडौं, चैत्र २३ – सभामुख देवराज घिमिरे उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन्। अन्तर व्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान कतार एयरवेजमार्फत उज्वेकिस्तान गएका हुन्।

प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्याम कुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोबिता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधि सभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद सचिवालयका उपसचिव राजु रिमाल सहभागी छन्।

ताश्केन्टमा चैत्र २३ देखि २७ गतेसम्म हुने सम्मेलनमा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ शीर्षकमा सम्बोधन गर्नेछन्। सांसद श्याम कुमार घिमिरे र सूर्यमान दोङ तामाङ स्थायी समितिको बैठकमा सहभागी हुनेछन् भने अञ्जान शाक्य महिला सांसदहरूको मञ्चमा र सोबिता गौतम युवा सांसदहरूको मञ्चमा सहभागी हुने कार्यक्रम छ।

सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्नेछिन्। संसदका महासचिवहरूको बैठकमा महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन्।

सभामुख घिमिरेले चैत्र २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा ‘बन्दुङ आत्माको ७० वर्षको सम्झनास् बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसदहरूको भूमिका’ विषयमा मन्तव्य दिनेछन्। सम्मेलनको अवसरमा उनी विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ।

सम्बन्धित समाचार

सबै