जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्दै समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने उद्देश्यले रौतहटमा समुदायस्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजना निर्माण अभियान सुरु भएको छ ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोगमा सञ्चालित ‘इम्पावरिङ हर’ परियोजना अन्तर्गत अक्सफाम इन नेपाल तथा ग्रामीण विकास केन्द्र (आरडिसी) नेपालले वृन्दावन र राजदेवी नगरपालिकामा उक्त अभियान थालेका हुन् ।
महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व सुदृढ गर्दै जलवायु सहनशील समुदाय निर्माण गर्नु परियोजनाको मुख्य उद्देश्य रहेको आरडिसी नेपालकी कार्यक्रम संयोजक राणा समिमले जानकारी दिए । उनका अनुसार जलवायु परिवर्तनबाट प्रभावित समुदायका महिलाको आर्थिक सशक्तीकरण, नेतृत्व विकास तथा लैङ्गिक हिंसा र अवैतनिक हेरचाह कार्यसँग सम्बन्धित समस्याको समाधानमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गरिनेछ ।
परियोजना अन्तर्गत लक्षित छ वटा समुदायमा आगामी पाँच वर्षलाई लक्षित गरी समुदायस्तरीय जलवायु अनुकूलन तथा विपद् व्यवस्थापन योजना निर्माण गरिनेछ । योजना निर्माण प्रक्रिया सहभागीमूलक, समावेशी तथा लैङ्गिक संवेदनशील हुने बताइएको छ ।
अभियान अन्तर्गत समुदायस्तरीय जोखिम तथा संवेदनशीलता मूल्याङ्कन, सामाजिक तथा स्रोत नक्साङ्कन, जोखिम नक्साङ्कन, संस्थागत नक्साङ्कन तथा अनुकूलन र जोखिम न्यूनीकरणका उपायहरूको पहिचान र प्राथमिकता निर्धारण गरिने संयोजक समिमले बताए । त्यसैगरी समुदायको सहभागितामा योजना मस्यौदा तयार, समीक्षा, प्रमाणीकरण र अन्तिम रूप दिने कार्यसमेत गरिनेछ ।
तयार गरिएका योजनालाई वडा तथा नगरपालिकाको वार्षिक योजना र बजेट प्रक्रियासँग समन्वय गरिने तथा आवश्यक प्राविधिक र आर्थिक सहयोगका लागि स्थानीय तहसँग सहकार्य गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा महिला सशक्तीकरण केन्द्रका सदस्य, दलित, जनजाति, मधेसी तथा अपाङ्गता भएका व्यक्ति, वडा विपद् व्यवस्थापन समिति, युवा समूह, जलवायु अभियन्ता तथा स्थानीय सरकारका प्रतिनिधि गरी छ वटा कार्यक्रममा करिब २ सय १० जनाको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।
यस अभियानबाट समुदायमा जलवायु परिवर्तनका कारण र प्रभावबारे ज्ञान तथा चेतना अभिवृद्धि हुनुका साथै स्थानीय आवश्यकताअनुसार योजना निर्माण भई स्थानीय तहको वार्षिक योजना प्रक्रियामा समावेश हुने अपेक्षा गरिएको छ । साथै महिला समूहहरूको क्षमता अभिवृद्धि भई वडा तथा नगरस्तरमा स्रोत परिचालनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रम राजदेवी नगरपालिका–१ मोतिपुर, ३ बतासपुर र ९ बरहम्पुरी तथा वृन्दावन नगरपालिका–१ रमौली बैरिया, ५ नरकटिया भवनिपुर र ९ भुसा क्षेत्रमा सञ्चालन भइरहेको छ ।