रौतहटमा अझै मोबाइल नेटवर्कको समस्या

28 Shares

रौतहटको केहि स्थानमा अझै मोबाइल नेटवर्कको समस्या यथाबत रहेको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ३ र ४ मा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले कुराकानी गर्न टावर खोज्दै भौँतारिनु परेको अबस्था रहेको छ । दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी र ४ पचरुखिका स्थानीयलाई यस्तो समस्या भएको हो ।
वडा नं. ३ का वडाध्यक्ष धर्मेन्द्र कुमार झाले मोबाइल नेटवर्कको समस्या हुँदा अहिलेको प्रविधिको युगमा हरेक काममा समस्या भएको बताए । उनले स्थानीयलाई सुविधा पुग्ने गरि नेटवर्क बिस्तार गर्न नेपाल टेलिकमलाइ बारम्बार अनुरोध गरेको बताए । वडा नं. ४ पचरुखीमा पनि नेटवर्क समस्या रहेकोले त्यहाँका स्थानीयलाई समेत सास्ती बेहोर्नु परेको उनको भनाइ रहेको छ । पचरुखी चोकमा मोबाइल टावर जडानको लागि बारम्बार ताकेता गर्दा पनि सुनुवाई नभएको गुनासो वडा अध्यक्ष झाले गरे ।
वडा नं. ३ का वडा सचिव उमेश चौधरी ले भने , “मोबाइल नेटवर्क राम्ररि काम नगर्दा वडाका हरेक नागरिकलाई कुनै न कुनै काममा असर परिरहेको देखिन्छ ।”
सम्पर्क गर्ने माध्यम मोबाइल नै राम्रोसँग नचल्दा बिरामीलाई अझ बढी समस्या हुने गरेको स्वास्थ्यचौकी मत्सरिका प्रमुख सतिश झाले बताए ।
यहाँ मोबाइल नेटवर्क राम्रोसँग काम नगर्दा नचल्दा स्थानीय मात्रै होइनन् कर्मचारी पनि हैरान भएका छन् । दुर्गा भगवती –३ मत्सरी घर भइ नेपाल टेलिकम गौरमा कार्यरत रुपेश चौधरीले राम्रोसँग मोबाइलले टावर नटिप्दा काम गर्न धेरै दुःख भएको बताए ।
दुर्गाभगवती संगै राजपुर नगरपालिकाका अधिकांश स्थानमा मोबाइल नेटवर्कको समस्या रहेको छ । राजपुर नगरपालिका कार्यालय रहेकै स्थानमा नेटवर्कले राम्ररि काम नगर्दा इन्टरनेट नचल्ने समस्या रहेको राजपुर नगरपालिकाका कम्प्युटर अपरेटर हरेन्द्र साहले बताए । त्यस्तै इशनाथ नगरपालिकाको बन्जरहा लगायतका क्षेत्रमा कुरा गर्न समेत मोबाइलमा नेटवर्क रहने नगरेको स्थानिय महम्मद मोजिबुल्लाहले जानकारी दिए ।
नेपाल टेलिकम गौरका प्रमुख सुनिल कुमार सिंह टावरले राम्रोसँग काम नगर्दा समस्या भएको स्विकार गरेका छन् ।उनका अनुसार तराइमा टावरको हाइट ३५ फिट हुनु पर्नेमा १८ फिट मात्र रहेको कारण प्रायः ठाउँमा नेटवर्क समस्या देखिएको बताए । रुखहरु अग्लो भएको कारण नेटवर्क समस्या बढेको बताउदै उनले पुराना टावरको उचाइ बढाउन आफुले बारम्बार पहल गरे पनि सुनुवाई नभएको बताएका छन् । उनका अनुसार सिर्सिया,चण्डीहा,मठिया,बैरिया,राजपुर लगायतका सात ठाउका बिटिएस टावरको उचाइ थप्न पत्राचार गरेको बताए ।
बन्जरहा,बेलबिछबा र बसतपुरमा नयाँ बिटिएस जडानको समेत सिफारिस गरिएको बताउनुदै उनले चाडै समस्या समाधानको लागि आफु प्रयासरत रहेको बताए ।

सम्बन्धित समाचार

सबै