बागमती नदीमा माछा मार्न गएका पुरुषको तीन दिनपछि शव फेला

43 Shares

रौतहटको चन्द्रपुर नगरपालिका –१ नुनथर स्थित बागमती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव तीन दिनपछि फेला परेको छ ।
मंगलबार बिहान ७ः३० बजेको समयमा नुनथर झोलुङेपुलबाट १०० मिटर उत्तरतर्फ नदीमा शव तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त शव सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्तीका ४० वर्षीय कामीसिंह स्याङतानको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिए ।
गएको शनिवार बिहान करिब १०ः३० बजेको समयमा चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित झोलुङेपुलबाट करिब १५० मिटर उत्तर बागमती नदीमा माछा मार्ने क्रममा स्याङतान डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे उनका भतिजो कान्छा लामाले शनिबार ११ः४५ बजेको समयमा प्रहरी चौकी पौराईमा जानकारी गराएका थिए ।
जाककारी भए लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रपुर,सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुर तथा आर्मी बेस चपुरबाट संयुक्त रूपमा खोजतलास जारी रहेको थियो ।
लगातार तीन दिनसम्म विभिन्न सुरक्षा निकायका टोलीले बागमती नदीमा गरेको खोजतलाशले शव फेला परेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको तथा पोष्टमार्टम पश्चात मृतक परिवारलाई शव जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बस्यालले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै