काठमाण्डौ/३१,असार / सञ्चारकर्म र खेलकुद दुवै क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सञ्चारकर्मी तथा पूर्व तेक्वान्दो खेलाडी कञ्चन थापा कोइराला गण्डकी प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनित भएकी छन्। खेलकुद क्षेत्रमा उनको विज्ञता र लामो सञ्चार अनुभवको कदर गर्दै गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले उनलाई परिषद् सदस्यमा मनोनयन गरेको हो।
परिषद्ले मङ्गलबार पोखरामा एक विशेष समारोहको आयोजना गरी नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएको छ। सोही समारोहमा सदस्यहरूको परिचयात्मक कार्यक्रमसमेत सम्पन्न भएको थियो।
नेपाल पत्रकार महासंघ, कास्की शाखाकी वर्तमान उपाध्यक्षसमेत रहेकी थापा पोखराको प्रतिष्ठित रेडियो अन्नपूर्णमा कार्यरत छिन्। खेलकुद पत्रकारिता र खेल व्यवस्थापनमा लामो समयदेखि सक्रिय उनीसँग फेवा टेलिभिजन, इमेज एफ.एम., माछापुच्छ्रे एफ.एम. जस्ता सञ्चारमाध्यमदेखि जिल्ला खेलकुद विकास समिति कास्की र नेपाल भूतपूर्व खेलाडी मञ्च जस्ता खेलकुद निकायमा रहेर काम गरेको अनुभव छ।
थापासँगै प्रदेश सरकारले विभिन्न खेल विधाका विज्ञहरूलाई पनि परिषद् सदस्यमा मनोनित गरेको छ। मनोनित हुने अन्य सदस्यहरूमा इन्द्र मल्ल (एथलेटिक्स), भीम पराजुली (भलिबल), कृष्ण थापा (फुटबल), विजय आले (फुलकन्ट्याक्ट कराँते), रबिनसन् प्रजु (क्रिकेट), रेग माया गुरुङ (तेक्वान्दो), नरेद्र ढुंगाना, संगीत सुवेदी र भेनिस थापा रहेका छन् । नयाँ कार्यसमितिको आगमनले गण्डकी प्रदेशको खेलकुद विकासमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।