मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बने

266 Shares

काठमाडौं । लिबरल पार्टीका नेता मार्क कार्नीले क्यानडाको प्रधानमन्त्रीको रूपमा शपथ लिएका छन्। उनले अंग्रेजी र फ्रान्सेली दुवै आधिकारिक भाषामा शपथ लिएका हुन्। कार्नीले राजा चाल्र्स तृतीय र उनका उत्तराधिकारीहरूप्रति निष्ठा व्यक्त गर्दै पदभार ग्रहण गरेका छन्।

पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिएका कार्नीले लिबरल पार्टीको नेताको चुनावमा १३१,६७४ मत (८५.९ प्रतिशत) प्राप्त गरेका थिए।

को हुन् मार्क कार्नी?

मार्क कार्नीको जन्म १६ मार्च १९६५ मा क्यानडाको फोर्ट स्मिथमा भएको थियो। उनको बाल्यकाल अल्बर्टाको एडमन्टनमा बित्यो। शिक्षक परिवारमा जन्मिएका कार्नी पढाइमा उत्कृष्ट विद्यार्थी थिए।

२००४ मा उनले क्यानडाको वित्त विभागमा काम गरेका थिए। २००७ मा क्यानडाको केन्द्रीय बैंक (बैंक अफ क्यानडा) को गभर्नर नियुक्त भएका कार्नीले २००८ को विश्वव्यापी आर्थिक मन्दीको बेला क्यानडाको अर्थतन्त्रलाई स्थिर बनाउन महत्वपूर्ण भूमिका खेले।

२०१३ मा उनी बैंक अफ इंग्ल्याण्डको गभर्नर बने, जहाँ उनले ब्रेक्जिटको चुनौती सामना गर्दै बेलायती अर्थतन्त्रलाई मन्दीबाट जोगाए। मार्च २०२० मा बैंक अफ इंग्ल्याण्ड छोड्नु अघि उनले कोरोनाभाइरस महामारीको असर कम गर्न ब्याजदर घटाउने निर्णय गरेका थिए।

राजनीतिमा कार्नीको यात्रा

२०१२ मा क्यानडाका तत्कालीन प्रधानमन्त्री स्टीफन हार्परले उनलाई अर्थमन्त्री बन्न प्रस्ताव गरेका थिए, तर उनले अस्वीकार गरे। २०१३ मा लिबरल पार्टीको नेतृत्वका लागि उनको नाम चर्चामा आए पनि उनी त्यसबेला राजनीतिमा आएनन्।

सेप्टेम्बर २०२३ मा जस्टिन ट्रुडो सरकारले आर्थिक चुनौतीहरू सामना गरिरहेका बेला कार्नीलाई लिबरल पार्टीको आर्थिक विकास कार्यदलको प्रमुख बनाएको थियो।

क्यानडाको आगामी चुनौती

कार्नीको नेतृत्वमा क्यानडाले विभिन्न आर्थिक तथा कूटनीतिक चुनौतीहरू सामना गर्नुपर्नेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औं राज्य बनाउने, लागूपदार्थ तथा अवैध आप्रवासन नियन्त्रणका लागि कडा नीति लागू गर्ने, र २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेका छन्।

यस्तो परिस्थितिमा कार्नीको नेतृत्वले क्यानडालाई कसरी अघि बढाउँछ भन्ने चासोको विषय बनेको छ।

सम्बन्धित समाचार

सबै