डिजिटल अपराध नियन्त्रणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक: प्रधानमन्त्री ओली

127 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादा भत्काई घृणाको राजनीति फैलाउने तथा परिवारभित्रै अविश्वास सिर्जना गर्ने कार्य नियन्त्रण गरिने बताएका छन्।

महान्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानव सुख र समृद्धिका लागि डिजिटल प्रविधिको सही प्रयोग आवश्यक रहेको उल्लेख गरे। साथै, समाजलाई विकृत बनाउन खोज्ने गतिविधि रोक्न सरकारले कानुन ल्याएको जानकारी दिए।

उनले सामाजिक सञ्जालको प्रयोगमा अवरोध नहुने स्पष्ट पार्दै, संविधान कार्यान्वयनको १० वर्ष पूरा भएपछि आवश्यक संशोधन गरिने बताए। डिजिटल युगमा अपराध नियन्त्रण अन्तर्राष्ट्रिय सहकार्यबिना प्रभावकारी नहुने भन्दै, प्रविधिको प्रयोगले अनुसन्धान र न्यायिक प्रक्रियामा सहजता ल्याउने धारणा राखे।

प्रधानमन्त्री ओलीले प्रविधिको सदुपयोगले मानव जीवन सरल बनाउने भए पनि दुरुपयोगले सभ्य समाजमा चुनौती थपेको बताए। उनले कृत्रिम बुद्धिमत्ता (AI) तथा डिजिटल प्रविधिको प्रयोग गरी अपराध नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै, अपराध भइहाले निष्पक्ष अनुसन्धान आवश्यक रहने बताए।

‘बीसौं शताब्दीमा नयाँ आविष्कार भए, तर तिनको दुरुपयोग पनि देखिएको छ। संगठित अपराध बढ्दो छ। हामीले प्रविधिको सही प्रयोग गरी अपराध हुन नदिनुपर्छ र निष्पक्ष न्याय सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सुशासन आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि अधिकारको दुरुपयोग हुन नहुने बताए। ‘हामी सुशासन र समृद्धि चाहन्छौं। जनताको जैविक र आधारभूत अधिकार सुरक्षित गर्न अघि बढ्छौं। पूर्ण लोकतन्त्र कायम गरी सामाजिक व्यवस्थाले मानवीय सुख सुनिश्चित गर्नुपर्छ,’ उनले जोड दिए।

महान्यायाधिवक्ता रमेश बडालले डिजिटल प्रविधिको दुरुपयोगबाट अपराध बढ्दै गइरहेको र सामाजिक सञ्जाल दुरुपयोग, डिजिटल ठगी, वित्तीय अपराध तथा डाटा सुरक्षामा चुनौती थपिएको बताए।

कार्यक्रममा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, अन्तर्राष्ट्रिय अभियोजकहरूको संस्थाका जेनरल कन्सुल शेनेज मुजाफ्फरलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

सबै