
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. विनोदप्रकाश सिंहले नेपाल चाँडै युरोपेली सङ्घ (इयू) को सुरक्षा सूचीबाट हट्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औं वार्षिकोत्सवको उद्घाटन गर्दै सचिव सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक संसद्बाट छिट्टै पारित हुने र त्यससँगै नेपाल इयूको सुरक्षा सूचीबाट हट्ने बताए।
सन् २०१३ देखि इयूले नेपाललाई कालोसूचीमा राखेको भए पनि पछिल्लो समय हवाई सुरक्षामा सुधार भएकाले अब सूचीबाट हट्ने सम्भावना रहेको उनले उल्लेख गरे।
सिंहले पर्यटन क्षेत्रको दिगो विकास आवश्यक रहेको बताउँदै संरचनागत कमजोरी हटाउन नीतिगत सुधार जरुरी रहेको धारणा राखे। पूर्वपर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन अपरिहार्य रहेको बताए।
नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन विकासका लागि नीति र संरचना सुधारको खाँचो औंल्याए। नेपालभर १,१०० भन्दा बढी टूर तथा ट्राभल व्यवसायी आवद्ध रहेको नाट्टाले पर्यटन प्रवर्द्धनमा सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक रहेको जनाएको छ।