नेपालको संविधान अनुसार राजनीतिक गर्न तथा राजनीतिक पार्टीमा लाग्न तथा उम्मेदवार बन्नका लागि जात, लिङ्ग, पेसा तथा वर्ग कुनै कुराले रोकेको छैन । प्रत्येक नागरिकलाई राजनीतिक गर्ने अधिकार छ । यसको अर्थ राजनीति सबैको लागि खुल्ला क्षेत्र हो। त्यसैगरी विभिन्न वर्गलाई समेट्नको लागि संविधानले महिला दलित सीमान्तकृत अल्पसंख्यक जस्ता आरक्षण कोटा पनि निर्धारण गरेको छ। त्यसैगरी स्थानीय तहदेखि केन्द्रसम्म विविध पेशा तथा पृष्ठभूमिका प्रतिनिधि आउन थालेका छन् । तदनरुप क्रमश जनतामा पनि राजनीतिक चेतना बढ्दै गएको पनि देखिन्छ । वर्तमान परिवेशमा नेपालमा सबै क्षेत्रका मानिसहरू राजनीतिकमा होमिएको देखिन्छ। हुन त कलाकार पत्रकार तथा अन्य क्षेत्रको मानिसहरूको सोच बाहिरबाट आलोचना गरेर मात्र परिवर्तन हुँदैन अब निर्णय गर्ने ठाउँमा पुग्नुपर्छ भन्ने अनुभूतिले पनि नीतिगत परिवर्तन गर्न राजनीतिमा प्रवेश गरेका हुन सक्छन् र उनीहरु विभिन्न सामाजिक सञ्जालको माध्यमबाट जनतासँग सजिलै जोडिन सक्छन् र आफ्नो प्रभाव पार्न सक्दछन् । अर्कोतिर राजनीति शक्ति पहिचान र अवसर प्राप्त गर्ने माध्यम पनि बनेको छ। कतिपय व्यक्तिहरू व्यक्तिगत उन्नति र प्रभावका विस्तारका लागि राजनीतिकमा आउँछन् । यस्तै हरेक पेशामा केही न केही समस्या आएको हुँदा नेतृत्वमा पुगेर यी समस्याहरु हल गर्छु भन्ने हेतुले समाधानका लागि राजनीतिको बाटो रोज्न पुगेका पनि हुन सक्छन् । बदलिँदो राजनीतिक परिवेश र जनतामा राजनीतिक चेतना लहर आएसँगै नेपालमा लगायत अन्य देशहरूमा पनि कलाकार पत्रकार साथै अन्य क्षेत्रका मानिस राजनीतिमा होमिएको प्रत्यक्ष देखिन्छ । नेपालको सन्दर्भमा हेर्दा कलाकार कोमल ओली ,रेखा थापा ,करिश्मा मानन्धर, रिमा विश्वकर्मा ,रवि लामिछाने जस्ता व्यक्तिहरू राजनीतिमा सक्रिय भएको देखिन्छ। त्यसैगरी विश्व परिवेशमा सरसर्ती हेर्दा रोनाल्ड रेगन अमेरिका, भोलोदिमिर जेलेन्सकी युक्रेन , जर्ज वेआ लाइबेरिया,इमरान खान पाकिस्तान जस्ता धेरै उदाहरणहरू लिन सकिन्छ । राजनीतिमा सबै क्षेत्रबाट आउनुहुन्न भन्ने कुरा पूर्णरुपमा बेठिक नहोला तर राजनीतिक सेवा हो, प्रसिद्धि होइन। केवल नाम,पैसा र शक्तिको पछाडि लागेको भए यसले लोकतन्त्रलाई अवश्य कमजोर बनाउँछ। राजनीति संस्कार नहुँदा संविधान र शासन प्रणाली नबुझे गलत निर्णय हुन सक्छ ।त्यसैगरी स्वयं व्यक्तिले आफ्नो लामो समयदेखिको अनुभवको पेशा छोड्दा त्यो क्षेत्र कमजोर बन्न सक्छ। सबै मानिस राजनीतिमा योग्य हुन्छन् भन्ने हुँदैन र योग्य बनाउने कुरा नियत,तयारी र मूल्य हो। कुनै क्षेत्रमा अब्बल भएर खारिएको व्यक्ति नयाँ क्षेत्रमा कोरा बन्न सक्छ। जसले राजनीति संस्था तथा शासन पद्धति नै फितलो बनाउने सम्भावना हुन्छ । यसले राजनीतिलाई सेवा होइन व्यापार बनाउँछ। सबै क्षेत्र तथा व्यक्तिलाई राजनीतिक ढोका खुल्ला गर्दा कतै लोकतन्त्र धराप त पर्दैन ? ढोका बाहिरबाट स्याल भएर पस्ने र भित्र छिरेपछि सिंह बनेर डस्ने जस्ता प्रवृत्ति देखिन पनि सक्छ ।जसलाई गहिरो मूल्याङ्कन गरेर नियाल्न जरुरी हुन्छ। जसले जसले राजनीति भित्रको कूटनीति, संविधान तथा भूराजनीति राम्रोसँग बुझेको हुँदैन त्यस्तो व्यक्तिले देशको शासन,जनताका अधिकार तथा देशको सार्वभौमतालाई नै खतरामा पार्ने सम्भावना हुन्छ। राजनीतिमा सिद्धान्त र दर्शन हुन जरुरी छ जसले गर्दा शासन तथा देशलाई कुन मोडलमा लैजाने भन्ने कुरा निर्देशित गरेको हुन्छ । पछिल्ला समयमा नेपालमा विचार भन्दा पनि देशमा भएका केही व्यथिति र असन्तुष्टका आधारमा भावनामा उचालिएर राजनीतिक पार्टी खोलिएका छन् । तिनीहरूको न कुनै ठोस लक्ष्य न दर्शन न सिद्धान्त भएको देखिन्छ। जसले भिडमा गएर चर्को नारा र विरोधका आधारमा भिड जम्मा गरेर खोलिएका राजनीतिक दलले कतिको स्थान पाउने हो हेर्न बाँकी छ। राजनीति गोरेटो भिडले हैन दर्शन र सिद्धान्तको आधारमा खोलिनुपर्दछ । ताकि राजनीतिक व्यक्तिले विचार र सिद्धान्त जनतासामु प्रस्ट्याउन सकोस्। जुनसुकै क्षेत्रका मानिस राजनीतिमा प्रवेश गर्दा शासन पद्धति तथा संविधानमा कस्तो असर पर्छ त ?
पार्टी आदेशमा सीमित
नीतिभन्दा प्रचारमुखी राजनीति
स्वतन्त्र कमजोर
सम्बन्धित क्षेत्रमा समस्या
निर्णय क्षमतामा कमजोर
भावनात्मक प्रभाव
शक्ति र पदको दुरुपयोग
नेपाल जस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देशमा कसैलाई राजनीतिमा प्रतिबन्ध लगाउनु कानुन विपरीत कुरा हो। तर यसमा राजनीतिक दल खोल्दा तथा उम्मेदवार हुनका लागि केही नीति नियम अवश्य पनि लागू गर्नुपर्ने जरुरी देखिन्छ। जस्तै न्यूनतम राजनीतिक योग्यता, पेशागत राजनीतिक सन्तुलन नीति, आचार संहिता र नैतिकता नीति, खर्च नियन्त्रण नीति, दलभित्र आन्तरिक लोकतन्त्र नीति, सुरक्षा र सम्मान नीति आदि जस्ता कुराहरू समेटेर नीति निर्माण गरिनुपर्दछ ।
राजनीतिक गर्ने हैसियत क्षेत्रले होइन चरित्र र क्षमताले निर्धारण गर्दछ। राजनैतिक सबै क्षेत्रका मानिसहरूको थलो हुन सक्छ तर नेपालमा अझै पनि समान पहुँच र समान प्रभाव सुनिश्चित हुन बाँकी छ। समावेशी, पारदर्शी र जनमुखी राजनीतिक अभ्यासको बाटोमा मात्र यो वास्तवमै सबैको थलो बन्न सक्छ। नेपालमा व्यक्ति बलियो तर संस्था कमजोर भएको देखिन्छ। तर जब संस्था बलियो हुन्छ नयाँ व्यक्ति आए पनि शासन स्थिर रहन्छ।। नेपालमा सबै क्षेत्रका मानिस राजनीतिक तर्फ होमिनु आवश्यकता, अवसर, अधिकार परिवर्तनको चाहना र बाध्यताको संयोजन होला तर यसले लोकतन्त्रलाई बलियो बनाउने आधार भने कमै देखिन्छ ।
(लेखक पौडेल नेपाल बौद्धिक परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ ।)